प्रधानाध्यापकको भनाइ

प्रधानाध्यापकको भनाइ
विद्यालय सुधार योजना विद्यालयको समग्र विकासको लागि एक अनिवार्य शर्त हो । निश्चय नै योजना विना राम्रो विद्यालयको परिकल्पना गर्न सकिँदैन । हाम्रो र राम्रो विद्यालय बनाउनका लागि विद्यालय सुधार योजना एक महत्वपूर्ण साधन हो । विद्यालयको सर्वाङ्गीण विकास विद्यालयमा बन्ने योजना निर्माणमा निर्भर रहने कुरामा दुईमत छैन । तसर्थ राम्रो विद्यालय सुधार योजना निर्माणमा सम्पूर्ण सरोकारवालाहरुलाई संलग्न गराइनु पर्दछ । विद्यालयसँग सम्बन्धित सरोकारवालाहरुको व्यापक सहभागितामा निर्मित योजना सफल योजना बन्न सक्छ र यसले विद्यालयलाई सही गन्तव्यमा पुर्‍याउन सक्छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय सुधार योजनाले एउटा महत्वपूर्ण कडीको रुपमा काम गर्ने भएकोले यसको निर्माण, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन कार्यमा सबैको ध्यान पुग्न उत्तिकै आवश्यक छ । शिक्षाको गुणस्तर आफैंमा एक बहुआयामिक विषय हो । यसको सुनिश्चितता कुनै एक पक्षको एकाङ्गी प्रयासको विशिष्टताभन्दा पनि यससँग सम्बन्धित बहुपक्षहरु मूलतः वि.व्य.स., शि.अ.स., विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक लगायतका सरोकारवाला व्यक्तिहरु, संघसंस्थाहरु र निकायहरुको समन्वयात्मक कार्यकुशलतामा निर्भर रहन्छ । यही मर्म र भावनालाई यस विद्यालय सुधार योजनाले आत्मसाथ गरेको छ । यस योजनाको मूल ध्येय सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गरी सीमित स्रोत र साधनलाई उचित प्रयोग गर्दै विद्यालयको समग्र सुधार मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हो । 
वि.स. २०१७ सालदेखि आजसम्म आइपुग्दा यस विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दे हालको अवस्थामा आइपुगेको छ । विद्यालयलाई हालको अवस्थामा ल्याई पुर्‍याउन अतुलनीय योगदान पुर्‍याउनु हुने महानुभावहरु तथा संघसंस्थाहरु प्रति यस विद्यालय ऋणी छ र यहाँहरुको अमूल्य योगदानप्रति आभार प्रकट गर्न चाहान्छ । सरोकारवालाहरु कै सहभागितामा निर्मित यस योजनामा राखिएका विविध कार्यक्रम सम्बन्धित सरोकारवाला व्यक्तिहरु संघसंस्थाहरु र निकायहरुको सहभागितामा सम्पन्न भई विद्यालयले गुणात्मक फड्को मार्ने कुरामा हामी विश्वस्तछौं । यस योजनाको सफलकार्यान्वयनले विद्यालयको पठनपाठनमा गुणात्मक सुधार भई नमुना विद्यालयको आधार समेत प्रदान हुनेमा कुनै शङ्का छैन । यस वार्षिक विद्यालय सुधार योजना पञ्चवर्षीय योजनाले राखेका उद्देश्यहरु पूरा गर्न तथा गुणात्मक शिक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्ने कुरामा हामीले विश्वास लिएका छौं । 

    शै.स. २०७७ देखि यस विद्यालयले कक्षा ११काे अनुमति लिइ व्यवस्थापन तथा शिक्षा सँग सम्बन्धित विषयमा कक्षा सञ्चालन गर्ने विद्यालयको रुपमा घाेराही उप महानगरपािलकाबाट कक्षा सञ्चालनकाे अनुमति लिएर कक्षा ११ र १२ काे कक्षाा सञ्चालन भइरहेकाे छ । यसै सन्दर्भमा यस विद्यालयले  “थोपाथोपा योग, मा.वि. जजरागाउको समग्र विकासमा हाम्रो सकारात्मक सहयोग”  भन्ने मान्यता अनुरूप विद्यालयको समग्र अवयवहरुलाई सन्तुलित र समानुपातिक रुपमा विकास गर्ने प्रतिबद्धताको साथै अघि बढेकोले यस अभियानमा सरिक भई आर्थिक, नैतिक, भौतिक सहयोग गरिदिनु हुन आम अभिभावकज्यूहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु स्टाफहरु स्थानीय सरकार एवम् आमसरोकारवालाहरु समक्ष विद्यालय व्यवस्थापन समिति मा.वि. जजरागाउँ हार्दिक स्वागत गर्दछ ।
अन्त्यमा यस योजनाले विद्यालयको सर्वाङ्गीण पक्षको विकासमा टेवा पुर्‍याउने विश्वास लिई योजना निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने वि.व्य.स.का पदाधिकारीहरु, शि.अ.स.का पदाधिकारीहरु, शिक्षकमित्रहरु, विद्यार्थी भाइबहिनीहरु, अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गर्दछौं । योजना कार्यान्वयन पक्षमा पनि सवै सरोकारवालाहरुको उत्तिकै साथ र सहयोग हुने कुरामा पूर्ण विश्वास लिएका छौं । 
                                         तिल प्रसाद घर्ती मगर
                                       प्रधानाध्यापक